FLASH NEWS

‘आदिपुरुष’ विवादबारे भारतीय कम्पनीले नेपाल चलचित्र विकास बोर्ड र बालेनलाई पठायाे पत्र


नेपाल आवाज ३ असार २०८०, आईतवार २३:१४ मा प्रकाशित ३७९९ पाठक संख्या

काठमाडौं – भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रा.लिले नेपाल चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पत्र पठाएको छ ।


कम्पनीले आइतबार इमेलमार्फत पत्र पठाएर चलचित्र ‘आदिपुरुष’मा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभइ सम्पूर्ण भारतीय नारीहरुको स्वाभीमानलाई प्रतिनिधित्व गरेको उल्लेख गरेको छ ।

कम्पनीकी राधिका दासद्वारा हस्ताक्षरित पत्रमा संसारका महिलाहरुको सम्मानलाई भारतीयले महत्वका साथ हेर्ने गरेको बताउँदै चलचित्रलाई कलात्मक प्रदर्शनको रुपमा हेरिदिन र सहयोग गर्न भनेकी छन् ।

‘सर्वप्रथम यदि हामीले कुनै पनि विषयमा नेपालको भावनामाथि चोट पुर्याएको भए माफी चाहन्छौं, कसैको सौहाद्रतामा खलल पुर्याउने हाम्रो कुनै पनि चाहना वा नियोजित कार्य थिएन’, पत्रमा भनिएको छ ।

‘चलचित्रमा प्रभासले निभाएको चरित्र श्री राघवले बोलेको ‘आज मेरे लिए मत लड्न, उस दिन के लिए लड्ना जब भारत कि किसि बेटी पर हात डाल्ने से पेहेले दूराचारी तुमहारा पौरुष याद कर्के थ्रा उठेका’ को सम्बन्ध माता सीताको जन्मभूमिसँग सम्बन्धित नभएको तर भारतका सबै महिलाहरुको स्वाभीमानलाई जनाउने रुपमा प्रयोग गरिएको हो’, पत्रमा उल्लेख गरिएको छ ।

फिल्म निर्माताले भारतमा उक्त संवादलाई आइतबार बेलुकासम्म सच्याएका छैनन् । बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन् ।

ओम राउत निर्देशित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा प्रयुक्त उक्त संवादलाई हटाएर यता नेपालको सेन्सर बोर्डले प्रदर्शन अनुमति दिइसकेको छ । तर काठमाडौंका मेयर बालेन्द्र साहले चाहिं भारतमा नसच्चाएसम्म काठमाडौं महानगरभित्रका हलमा प्रदर्शनमा रोक लगाउने घोषणा गरेका छन् ।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहितविपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ,’ मेयर साहले फेसबुकमा लेखेका छन् ।

महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन नगर्न आग्रह गरेको छ । आइतबार महानगर प्रहरीको टोली बिभिन्न हलहरुमा पुगेर सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन नगर्न आग्रह गरेको हो । सो क्रममा महानगर प्रहरीले सोमबारदेखि नेपाली फिल्म मात्रै प्रदर्शन गर्न आग्रह गरेको थियो । सो क्रमम हल सञ्चालकहरुले महानगरको निर्देशनलाई पालना गर्ने प्रतिवद्धता जनाएका छन् । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।