FLASH NEWS

नागरिकताको विषयमा सत्तापक्षले नै राजनीतिकरण गरिरहेको लिङदेनको आरोप


नेपाल आवाज ४ असार २०८०, सोमबार १५:५० मा प्रकाशित १४५९ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकताको विषयमा सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको आरोप लगाएका छन्।


सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसदमा ल्याउन पनि सरकारलाई दबाब दिए।

त्यसको कन्टेन्टमा छलफल गरेर फाष्ट ट्रयाकबाट सो विधेयक पारित गर्न आफूहरुको कुनै आपत्ति नरहेको अध्यक्ष लिङदेनको भनाइ थियो।

उनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरुबाट भएझैं गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाए।

अध्यक्ष लिङदेनले भारतलाई खुशी बनाउन र नागरिकता नपाएका नागरिकहरुलाई पनि खुशी बनाउने सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण गराएपनि पीडितलाई नागरिकता दिने नियत नभएको नदेखिएको पटकपटक दोहोर्‍याए।

लिङदेनले नागरिकताको विषयमा राजनीतिकरण नगर्न सत्तारुढ दलहरुलाई आग्रह गर्दै त्यो समस्या समाधान हुने गरी विधेयक संसदमा ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गराए।

उनले मुलुकको परराष्ट्रनीति सत्ता केन्द्रीत भएको आरोप पनि लगाए । मुलुकको भूमि भारतले आफ्नो नक्सामा पार्दा पनि बोल्न नसक्ने र खुसी पार्न जे पनि गर्ने अवस्थाले मुलुकको परराष्ट्र नीति मजबुद हुन नसक्ने उनको भनाइ छ ।