FLASH NEWS

भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्साबारे बुझ्न दूतावासलाई निर्देशन


नेपाल आवाज ५ असार २०८०, मंगलवार १२:५२ मा प्रकाशित १५१९ पाठक संख्या

काठमाडौं – नेपाल सरकारले भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नयाँ नक्साबारेमा बुझ्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।


परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्य तथ्य जानकारी लिन दूतावासलाई निर्देशन भइसकेको जानकारी दिएका हुन् ।

उनले भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारतसम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको विषयमा भारत सरकारको आधिकारिक धारणा आएको बताए।

अखण्ड भारतको नक्शा म्युरलमा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी नक्शामा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारीक धारणा भारतका विदेशमन्त्रीबाट आएको बताए।

मन्त्री साउदले अखण्ड भारतको नक्शाका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पाउन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको समितिलाई स्पष्ट पारे।

उनले अखण्ड भारतको नक्शाभन्दा पनि चित्र भएको बताए।

परराष्ट्रमन्त्री साउदले अखण्ड भारतको नक्शाको विषयमा आफूले सञ्चारमाध्यममा नेपाल सरकारलाई स्पष्ट आधिकारिक जानकारी नआइ बोल्न नमिल्ने भएकाले जानकारीमा नभएको बताएको स्पष्टसमेत पारे।

उनले सरकार नेपालको नक्शाको बारेमा स्पष्ट रहेको बताए। नेपालको नक्शा के हो भन्ने कुरा २०७७ असार ४ गते संविधानमा दोस्रो संशोधन गरेर सर्वसहमतिमा नयाँ नक्शा समेटेर संविधानको अनुसूची ३ मा नेपालको निसाना छाप अध्यावधिक गरिएको तथ्य सबैमा जानकारी रहेको उनकाे भनाइ छ।

मन्त्री साउदले नक्शाका विषयमा हमेसा विवाद बनाइराख्नु उचित नहुने बताउँदै इपिजीको प्रतिवेदनमा के लेखिएको छ भन्नेबारे नेपाल सरकारलाई जानकारी नभएको बताए।