FLASH NEWS

गाडी दुर्घटना अपडेट : सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहको निधन


नेपाल आवाज ५ असार २०८०, मंगलवार १८:३१ मा प्रकाशित १४४७ पाठक संख्या

काठमाडौं – सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । उपचारका क्रममा मन्त्री सिंहको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजले मृत घोषणा गरेको हो ।


गम्भीर घाइते भएका सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको थियो । दुर्घटनामा परेका मन्त्री सिंहकी पत्नी अमृतादेवी सिंह र उनकी भाउजू जयादेवी सिंहको भने बझाङको केदारस्युँ गाउँपालिकामा रहेको देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका मन्त्रीका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनीहरूको अवस्थामा पनि गम्भिर रहेको अस्पतालले जनाएको छ ।

सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङ जाने क्रममा मंगलबार दिउँसो दुई बजेतिर जयपृथ्वी राजमार्ग केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनार बजुवा बगरमा खसेको थियो ।

मन्त्री सिंह गत चुनाव बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए ।