FLASH NEWS

‘आदिपुरुष’ विवादः बालेनको कदमविरुद्ध सिनेमाघर सञ्चालक अदालत जाने


नेपाल आवाज ५ असार २०८०, मंगलवार २१:३७ मा प्रकाशित १९०३ पाठक संख्या

काठमाडौं – काठमाडौं महानगरपालिकाभित्र भारतीय चलचित्रको प्रदर्शन रोक्ने मेयर बालेन्द्र साह(बालेन )को कदमविरुद्ध सिनेमाघर सञ्चालक अदालत जाने तयारी गरेका छन्।


मेयर साहले ओम राउत निर्देशित दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद रहेको भन्दै उक्त संवाद नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र सञ्चालन हुन नदिने घोषणा गरेका थिए।

मेयर साहको उक्त घोषणापछि सोमबारदेखि काठमाडौं महानगरसहित देशका विभिन्न स्थानमा भारतीय चलचित्रको प्रदर्शन रोकिएको छ। तर, मेयर साहले भनेजस्तो ‘जानकी भारतकी छोरी हुन्’ भन्ने शब्द चलचित्रमा नरहेको चलचित्र हल सञ्चालकको भनाइ छ।

राज्यको नीतिको अभावमा आफूहरु पीडित भएको भन्दै हल सञ्चालकहरु बालेनको नाम नलिएरै अदालत जान लागेका हुन्।

नेपालमा चलचित्रको प्रदर्शन रोकिएपछि ‘आदिपुरुष’का निर्माताले मेयर शाहलाई पत्र लेख्दै माफी मागेका थिए। चलचित्र निर्माता कम्पनी टि–सिरिजले नेपालमा ‘आदिपुरुष’ सञ्चालनका लागि सहयोग गरिदिन मेयर शाहलाई आग्रह गरेको थियो।

मेयर शाहले भनेजस्तो चलचित्रमा संवाद नरहेको टि–सिरिजको भनाइ थियो। चलचित्र ‘आदिपुरुष’मा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभइ सम्पूर्ण भारतीय नारीहरुको स्वाभीमानलाई प्रतिनिधित्व गरेको बताइएको थियो । पत्रमा संसारका महिलाहरुको सम्मानलाई भारतीयले महत्वका साथ हेर्ने गरेको बताउँदै चलचित्रलाई कलात्मक प्रदर्शनको रुपमा हेरिदिन र सहयोग गर्न आग्रह गरिएको थियो । नेपालीलाई दुःखी तुल्याउने आफूहरुको नियत नरहेको पनि टि–सिरिजले प्रष्टीकरण दिएको थियो।

चलचित्र ‘आदिपुरुष’को नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले काठमाडौं महानगरपालिकाको आधिकारिक पत्रबिनै हल व्यवसायीले फिल्मको प्रदर्शन रोकेकोप्रति आपत्ति जनाएका थिए । यसै क्रममा कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय गरेका थिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र ‘आदिपुरुष’ जाँच गर्दा राष्ट्रिय विभूतिको रुपमा रहेकी जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको संवाद हटाउन लगाई सोपश्चात सेन्सर पासको प्रमाणपत्र दिएर सार्वजनिक प्रदर्शन गर्न अनुमति दिइएको मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।