FLASH NEWS

दिवंगत मन्त्री सिंहको पार्थिव शरीर धनगढीमा,मुख्यमन्त्रीसहितका नेताहरुद्वारा श्रद्धाञ्जली


नेपाल आवाज ६ असार २०८०, बुधबार ११:५९ मा प्रकाशित १९१५ पाठक संख्या

धनगढी – जिप दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहलाई विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


वुधबार धनगढीस्थित क्षेत्रीय रंगशालामा आयोजित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

सिंहको पार्थिव शरीरमा मुख्यममन्त्री, प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यहरु, राजनीतिक दलका प्रदेश तथा जिल्ला स्तरका नेता, धनगढीका मेयर गोपाल हमाल लगायतले पुष्पगुच्चासहित श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयकाअनुसार मन्त्री सिंहको शव श्रद्धाञ्जलीका लागि केही समय कर्भड हलमै राखिनेछ भने त्यसपछि अन्त्येष्टिका लागि हेलिकप्टरमार्फत बझाङ लगिनेछ ।

मन्त्री नियुक्त भएको ३०औं दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । दुर्घटनालगत्तै उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

मन्त्री सिंहसँगै दुर्घटनामा परेका पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो । उनीहरुको शव मंगलबार साँझ सदरमुकाम चैनपुर पुर्‍याएर जिल्ला अस्पतालमा राखिएको छ ।

मन्त्री सिंहसहित उनको परिवार चैनपुरस्थित घरको प्रतिष्ठा पूजा र ढडार मष्टाको पूजा गर्न धनगढीबाट हिँडेका थिए । दिवंगत सिंह दम्पतीका दुई छोराबुहारी र दुई नातिनातिना छन् ।