FLASH NEWS

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत बनाइएको हो : चिनियाँ राजदूत


नेपाल आवाज ६ असार २०८०, बुधबार १४:३८ मा प्रकाशित १४११ पाठक संख्या

पोखरा – नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको दाबी गरेका छन्।  बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेपछि आयोजित कार्यक्रममा राजदूत सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनेको दाबी गरेका हुन्।


राजदूत सोङले पोखरा विमानस्थल चिनियाँ कम्पनीले नै डिजाइन र निर्माण सम्पन्न गरेको बताए। उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा सुरुवात भएको हो । यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । चाइनिज इन्जिनियरिङहरुबाट यो निर्माण भएको हो । अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो बीआरआई परियोजनाअन्तर्गतको हो ।’

बीआरआई परियोजनामा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेपनि यो अनुदान वा ऋण भन्ने स्पष्ट नहुँदा विवादित हुँदै आएको छ। गत चैत्रमा तत्कालीन चिनियाँ विदेश मन्त्री वाङ यी सँग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बीआरआई अन्तरगतका परियोजनाहरु ऋण हो भने त्यो नेपाललाई स्वीकार्य नहुने जानकारी दिएका थिए। नेपाल सरकारले बीआरआई परियोजना ऋण हो कि अनुदान हो भन्ने स्पष्ट पार्न चीन सरकारलाई आग्रह गर्दै आएको छ।

यस अगाडि पनि काठमाडौंस्थित चिनियाँ दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गतकै परियोजना रहेको दाबी गरेको थियो।

सरकारले यो विमानस्थल बनाउन एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइना एक्जिम बैंकबाट २१५.९६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिएको थियो। कुल ऋणको ७५ प्रतिशतको ब्याज २ प्रतिशत हुने र २५ प्रतिशतको शून्य ब्याजदर हुने व्यवस्था छ। २० वर्ष अवधिका लागि लिएको ऋणको ग्रेस पिरियड (छुट अवधि) सात वर्षको छ। सात वर्षसम्म ब्याज तिर्नुपर्दैन।

सरकारले २ प्रतिशतमा लिएको ऋण प्राधिकरणलाई ५ प्रतिशतमा दिएको छ। डलर उतारचढावको जोखिम वहन गर्ने गरी सरकारले ५ प्रतिशतमा प्राधिकरणलाई ऋण दिएको हो। नेपालमा हुने वैदेशिक लगानीमा सबैभन्दा महँगो ब्याजको ऋण चीनकै हो। अन्य सहायतामा ऋण र अनुदान नै हुने भए पनि यो भने पूर्ण ऋण हो।