FLASH NEWS

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश


नेपाल आवाज ६ असार २०८०, बुधबार १९:२८ मा प्रकाशित १४५९ पाठक संख्या

काठमाडौं – उच्च अदालत पाटनले हिसान शैक्षिक मेला नरोक्न उच्च काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ ।


उच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले बुधबार यस्तो अन्तरिम आदेश दिएको हो ।

काठमाडौंको भृकुटीमण्डपस्थित शैक्षिक मेला सुरू भएकैदिन काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशनमा गएका नगर प्रहरीले मेलास्थल खाली गराएका थिए । महानगरपालिकासँग समन्वय नगरी मेला आयोजना गरिएको भन्दै मेयर साहले बन्द गराएपछि त्यसविरुद्ध उच्च माध्यमिक विद्यालय एशोसियसन हिसान उच्च अदालतमा रिट दायर गरेको थियो ।

संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रममा स्थानीय तहको अनुमति नचाहिने भन्दै उच्च अदालतले हिसान शैक्षिक मेला नरोक्न भनेको हो । हिसानको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, रमेश बडाल, सुनिल पोखरेल र रमण कर्णले बहस गरेका थिए भने महानगरपालिकाको तर्फबाट ओमप्रकाश अर्यालले बहस गरेका थिए ।