FLASH NEWS

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना दिवस : रविको निम्ता स्विकार्दै चियापानमा पुगे शीर्ष नेताहरु


नेपाल आवाज ७ असार २०८०, बिहीबार १७:२३ मा प्रकाशित १५३१ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।


बालाजुस्थित कार्यालयमा भएको चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न पार्टीका शीर्ष नेता र मन्त्रीहरू समेत सहभागी भएका हुन् ।

कार्यक्रममा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, मन्त्रीहरू नारायणकाजी श्रेष्ठ, धनराज गुरुङ, मोहन बस्नेत तथा नेताहरू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,शुपति शमशेर जबरा,राप्रपा नेपालको अध्यक्ष कमल थापा,जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत,एमाले उपाध्यक्ष विष्णु पौडेल,कांग्रेस प्रमुख सचेतक रमेश लेखक,सुवास नेम्वाङ, विष्णु पौडेल, महन्थ ठाकुर, जनार्दन शर्मा, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर,सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललगायत सहभागी भएका छन् ।

यस्तै कलाकार हरिवंश आचार्य ,मदनकृष्ण श्रेष्ठ, किरण केसी,दीपाश्री निरौला,दिपक राज गिरी,निर्मल शर्मालगायत सहभागी छन् ।

चियापानमा दही, चिउरा, मकैभटमास, तरकारी, योमरी लगायतका परिकार राखिएको छ ।

रवि लामिछाने नेतृत्वको पार्टी गत २०७९ साल असार ७ गते गठन भएको थियो । सभापति लामिछानेले आज पार्टीको पहिलो वार्षिकोत्सवका उपलक्ष्यमा साँझ सात बजे ७७ जिल्लामै ७७ पटक घण्टी बजाउन पार्टीका शुभेच्छुकलाई आह्वान गरेका छन् । रास्वपाको चुनाव चिन्ह घण्टी रहेको छ । मूलधारको राजनीतिमा प्रवेश गरेको छोटो समयमै पार्टीले प्रतिनिधि सभामा उल्लेख्य प्रतिनिधित्व हात पारेको छ ।