FLASH NEWS

विश्वकप छनोट : वेस्ट इन्डिजबाट नेपालले पायो ३४० रनको चुनौतीपूर्ण लक्ष्य


नेपाल आवाज ७ असार २०८०, बिहीबार १७:०५ मा प्रकाशित १५३१ पाठक संख्या

काठमाडौं – आईसीसी विश्वकप छनोट क्रिकेट अन्तर्गत आज भइरहेको खेलमा वेस्ट इन्डिजले नेपाललाई ३४० रनको चुनौतीपूर्ण विजयी लक्ष्य दिएको छ ।


हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको छ । यो नेपालले अहिलेसम्म पाएको सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि आइसिसी विश्वकप लिग–२ मा केहि महिना अघि युएईले नेपालविरुद्ध ३ सय १० रन बनाएको थियो ।

वेस्ट इन्डिजका कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १ सय ३२ रन बनाए । उनी अन्तिम ओभरको दोस्रो बलमा स्पिनर ललितको बलमा भीम सार्कीबाट क्याच आउट भए ।

निकोलस पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रन बनाए । पुरनले शतक बनाउन दुई जीवनदान पाएका थिए ।

बलिङमा ललितले ३ तथा करण, गुल्सन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिए । ललितले १० ओभरमा ५२ रन खर्चिए ।सन्दीपले १० ओभरमा १ मेडन राख्दै ५० रन खर्चिए ।

अघिल्लो खेलमा अमेरिकाविरुद्ध प्लेयर अफ द म्याच बनेका करण यसपल्ट महंगो सावित भए । उनले १० ओभरमा १ मेडन राख्दै ८१ रन खर्चिए ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।

आउने अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने आशा जीवित राख्न नेपालले यो समूहमा शीर्ष तीनभित्र रहेर सुपर सिक्समा पुग्नुपर्छ ।