FLASH NEWS

संशोधित नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो,सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


नेपाल आवाज ७ असार २०८०, बिहीबार १८:४० मा प्रकाशित १८७३ पाठक संख्या

काठमाडौं – सर्वोच्च अदालतले सरकारलाई संशोधित नागरिकता ऐन कार्यान्वयन गर्ने बाटो खोलिदिएको छ।


नागरिकता विधेयक प्रमाणीकरणसम्बनधी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चको यो आदेशसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुको सन्तानले वंशजको आधारमा नागरिकता पाउने भएको छ ।

सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता पाउने बाटो खुलेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ। सर्वोच्च अदालतले उक्त विधेयक कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खुलेको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार चुडालको संयुक्त इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउन यसअघि डा. मनोजकुमार शर्माले अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश दिएको छ ।

गत वर्ष तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरी होल्डमा राखेकी थिइन् । तर उक्त विधेयक १७ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए ।

विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम संविधान विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दिएका थिए ।