FLASH NEWS

विश्वकप छनोट: दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार


नेपाल आवाज ७ असार २०८०, बिहीबार २१:०७ मा प्रकाशित २०५९ पाठक संख्या

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । बिहीबार हरारे क्रिकेट मैदानमा भएको खेलमा नेपाल दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग पराजित हुन बाध्य भएको हो ।


वेस्ट इन्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.४ ओभरमा जम्मा २ सय ३८ रन बनाएर अलआउट भयो ।

यो वेस्ट इन्डिजको लगातार दोस्रो जित हो । टोलीले पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । नेपालको तीन खेलमा यो दोस्रो हार हो । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो ।

वेस्ट इन्डिजको तीव्र बलिङका अगाडि नेपाल सुरुआतदेखि नै दबिएर खेलेको थियो । कुशल भुर्तेल ५, भिम सार्की २ रनमै आउट भए । त्यस्तै ओपनर आसिफ शेखले २८ रन, कप्तान रोहित पौडेलले ३० रन, कुशल मल्ल २ रन र दीपेन्द्रसिंह ऐरी २३ रनमै आउट भए ।

नेपालका लागि आरिफ शेखले सर्वधिक ६३ रन जोडे । आरिफले ९३ बलमा चार चौका र एक छक्का प्रहार गरे । गुल्सन झाले ४२ रन थपे । यी दुईले सातौँ विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।

नेपाललाई सस्तैमा समेट्न वेस्ट इन्डिजका जासन होल्डरले तीन विकेट लिए । अल्जारी जोसेफ, किमो पाउल र अकेइल हुसैनले समान दुई विकेट लिए । काइल मायर्सले एक विकेट हात पारे ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई ३ सय ३९ रन बनाएको थियो ।

कप्तान साई होप र निकोलस पुरनले सानदार शतक बनाएपछि वेस्ट इन्डिजले विशाल स्कोर बनाएको थियो । यी दुईले चौथो विकेटमा २ सय १६ रनको साझेदारी गरे ।

पुरनले १ सय १५ र होपले १ सय ३२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा पुरनको यो दोस्रो र होपको छैटौं शतक हो । ९४ बल खेलेका पुरनले १० चौका र ४ छक्का प्रहार गरे । उनले ३ र ५३ रनमा जिवनदान पाएका थिए । दुवै पटक आसिफले उनको क्याच फुत्काउन पुगेका थिए । दीपेन्द्रले आफ्नै बलमा सानदार क्याच लिइ पुरनलाई आउट गरी यो साझेदारी तोडेका थिए ।

होपले १ सय २९ बल खेली १२ चौका र ३ छक्का प्रहार गरे । रोभमन पोवेल १४ बलमा २९ र किमो पाउल १ रनमा आउट भए । जेसन होल्डर १० बलमा २ चौकासहित १६ रनमा अविजित रहे ।

ब्रेन्डन किंगलाई ३२ रनमा सन्दीपले बोल्ड गरेपछि वेस्ट इन्डिज १६ औं ओभरमा ५५–३ को स्थितिमा पुगेको थियो । नेपालबाट ललितले ३ विकेट लिए । खेलको पहिलो ओभर लिएर आएका उनले १० ओभरमा ५२ रन खर्चे । करण, गुल्शन, सन्दीप र दीपेन्द्रको नाममा १–१ विकेट रहयो ।

जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्ने छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।