FLASH NEWS

पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु


नेपाल आवाज ८ असार २०८०, शुक्रबार १३:०३ मा प्रकाशित १७७७ पाठक संख्या

पोखरा – नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरको आयोजनामा पोखरामा ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ। २ दिनसम्म चल्ने नेपाल-चीन फ्रेन्डसिप कार्यक्रमअन्तर्गत बोट रेस सुरु भएको हो।


संस्कृति,  पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपालस्थित चिनियाँ राजदूत छन् सोङले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका हुन्।

फेस्टिभलको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताएका छन् । फेस्टिभलले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको र दशकौँदेखिको सम्बन्ध हालसम्म सुमधुर रहँदै आएको बताए ।

पर्यटकीय नगरी पोखरामा आयोजित मैत्रीपूर्ण यस महोत्सवले दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समेत थप प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे ।

उनले चीनसँग सम्बन्ध बलियो बनाउन फेस्टिभलले नयाँ सुत्रपात निर्माण गरेको भन्दै चिनियाँ नागरिकलाई नेपाल घुम्न आउन आग्रह गरे ।

मन्त्री किरातीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको समेत स्पष्ट पारे । इतिहासमा चीन र भारतको व्यापारिक नाका रुपमा स्थापित पोखरामा भव्यरुपमा महोत्सवमा ड्रागन बोट फेस्टिभल सम्पन्न हुन लागेको उनको भनाइ छ ।

नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक सामाजिक तथा सांस्कृति सम्बन्ध रहेको बताउँदै ‘ड्रागन बोट रेस फेस्टिभल’ दुईदेशबीचको आपसी सम्बन्ध एवं जनस्तरको सम्बन्ध अझै बलियो बन्ने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखरामा हुनुलाई आफूहरुले महत्वपूर्ण रुपमा लिएको बताउँदै यसले आगामी दिनमा पोखरामा चिनियाँ पयर्टकको आगमन बढ्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा समेत महोत्सवलाई निरन्तरता दिने जानकारी गराए ।

दुई देशबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गरिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए। फेस्टिभलले पोखरा मात्र नभई समग्र नेपालकै पर्यटनमा टेवा पुग्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालमा पहिलोपटक आयोजना गरिएको यस प्रकारको कार्यक्रमले समग्रमा पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए ।

दक्षिण एशियामा पहिलो पटक आयोजना गरिएको यो महोत्सवले नेपालको विश्वभर प्रवद्धन एवं यसबाट भविश्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने उनको भनाइ छ ।

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज र भोलि दुई दिन बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो ।

कार्यक्रमको औपचारिक उद्घाटनसँगै पहिले २ सय मिटर र पछि ५ सय मिटर गरी दुईवटा सेगमेन्टमा ८ वटा बोट रेस प्रतियोगिता हुनेछ। प्रतियोगितामा विजेतालाई २० लाख नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।