FLASH NEWS

आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने चलचित्र संघको निर्णय


नेपाल आवाज ८ असार २०८०, शुक्रबार १५:४५ मा प्रकाशित १७७७ पाठक संख्या

काठमाडौं – नेपाल चलचित्र संघले ‘आदिपुरुष’बाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले सो जानकारी गराएको हो ।


उच्च अदालत पाटनले २०८० असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन नगर्नु नगराउनु भनी अल्पकालीन आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै शुक्रबारबाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको संघले जनाएको छ । यस्तै नेपाल कानुनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको समेत संघले बताएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्ममा ‘आदिपुरुष’ ‘मा रामायणकी सीता भारतमा जन्मेकी थिइन् भन्ने आशयको संवाद रहेको दाबी गर्दै मेयर शाहले गत सोमबारदेखि काठमाडौं महानगरभित्रका हलमा सबै भारतीय फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाएका थिए । बालेनको यस्तो निर्णयपछि पोखरा महानगरपालिका लगायतका केही स्थानीय निकायले पनि हिन्दी फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।

संविधानविद् भीमार्जुन आचार्य बालेनका पक्षमा

संविधानविद् भीमार्जुन आचार्य भारतीय फिल्म रोकविरुद्ध अदालतले जारी गरेको आदेश मान्दिनँ भन्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का पक्षमा घुमाउरो तरिकाले देखिएका छन्।

आचार्यले कानुनी राज्यमा अदालतको आदेश मान्दिनँ भन्न त नपाइने तर अदालतले पनि आफू केका लागि बनेको हो भन्ने हेक्का राख्नुपर्ने टिप्पणी गरेका छन्। अदालतका धेरै काम/कारबाही आलोच्य भएको पनि उनले उल्लेख गरेका छन्।

‘कानुनी राज्यमा अदालतको आदेश मान्दैन भन्ने अधिकार कसैलाई हुँदैन। चित्त नबुझे पनि पालना गर्नुपर्ने बाध्यता रहन्छ’, संविधानविद् आचार्यले शुक्रबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर अदालतले पनि कानुन, संविधान र स्वयं अदालत देशका लागि बनेका हुन्। देश अदालत, कानुन र संविधानका लागि होइन भन्ने हेक्का राख्नुपर्छ। अदालतका धेरै कामकारबाहीहरू आलोच्य छन्।’