काठमाडौं – बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी हुन लागेको हो । तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न लागेको हो । जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय असार १७ गतेलाई तोकिएको छ ।
जारी रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । रिपोमा सहभागी हुन बैंकहरुले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ । परेको बोलकबोलबाट भारित औसतमा ब्याजदर निर्धारण गरिनेछ ।
निक्षेपको तुलनामा लगानी विस्तार हुन नसकेपछि बजारमा बढेको मुद्रा प्रवाह नियन्त्रणका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो । यसअघि बिहीबारमात्रै राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो । यो रिभर्स रिपोमा राखिएको रकम बैंकहरुले असार १४ गते फिर्ता पाउनेछन् ।