FLASH NEWS

वीर अस्पतालका ७०० वटा जनरल बेड आजदेखि निःशुल्क


नेपाल आवाज ८ असार २०८०, शुक्रबार १९:०८ मा प्रकाशित १९३९ पाठक संख्या

काठमाडौं – वीर अस्पतालका ७०० वटा जनरल बेड शुक्रबारदेखि बिरामीले निःशुल्क पाउने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्ले आजैदेखि लागु हुने गरी यस्तो निर्णय गरेको हो ।


यसअघि, प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएकोमा अब भने निःशुल्क हुने न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले बताए । अस्पतालका क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क लाग्नेछ ।

बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति सहित रेक्टर, रजिष्ट्रार र डिन नियुक्ती गरेपछि न्याम्सको सहकुलपतिको हैसियतले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले न्याम्सका उपकुलपति सहित पदाधिकारीलाई मन्त्रालयमा बोलाएर वीर अस्पतालका सबै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएका थिए।

मन्त्रीको निर्देशनपछि शुक्रबार न्याम्स पदाधिकारीको बैठकले क्याबिन र आईसीयू बाहेक वीरका सबै ७ सय वटै शय्या निःशुल्क गर्ने निर्णय गरेको हो।

७०० बेड निःशुल्क गरेबापत् हुने वार्षिक पाँच करोड रुपैयाँ खर्च सरकार र अस्पतालको आन्तरिक स्रोतबाट व्यहोरिने पनि न्याम्सका उपकुलपति डा. बस्नेतले बताए ।

त्यस्तै न्याम्सले अन्य आंगिक अस्पतालहरुसग समन्वय गरेर त्यहाको विरामीको चापलाई व्यवस्थापन गर्ने कार्ययोजना बनाएको छ । स्वास्थ्यमा आम नागरिकको सहज पहुँचलाई सुनिश्चित गर्न सरकारले न्याम्स मार्फत काम अघि बढाउने तयारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेको दिनदेखि नै आफ्नो चिन्ता र चासो विपन्न विरामीलाई कसरी सहज तरिकाबाट उपचार सेवा दिन सकिन्छ भन्नेमा रहेको र त्यसमा आफू सफल हुँदै गइरहेको बताए।

हरेक अस्पतालले विपन्नलाई १० प्रतिशत शय्यामा उपचार निःशुल्क दिनै पर्ने बाध्यकारी व्यवस्था आफूले कडाईका साथ लागू गर्न लागेको र धेरै अस्पतालले नियम अनुसार सेवा दिन थालेको मन्त्री बस्नेतले जानकारी दिए।

मन्त्री बस्नेतले विपन्नको उपचारका लागि छुट्टै फन्ड बनाएर त्यसबाट उनीहरुको निशुल्क उपचार गर्न सकिने र आफू त्यो काममा अगाडि बढिसकेको बताए।

सूर्तिजन्य पदार्थ र मदिरामा कर बढाएर त्यो करको रकमबाट विपन्नको उपचार गर्ने गरि आफू लागेको र यो अभियानमा सबैको साथ चाहिएको बताए।