FLASH NEWS

देशभरको मौसम बदली : विभिन्न भूभागहरुमा मध्यमदेखि भारी वर्षा,सतर्कता अपनाउन आग्रह


नेपाल आवाज ९ असार २०८०, शनिबार ११:०२ मा प्रकाशित १३०३ पाठक संख्या

पोखरा – देशभरको मौसम बदली भएको छ । आज बिहानैदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। मनसुन देशभर फैलिएसँगै देशका विभिन्न भूभागहरुमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।


जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । गएराति बारा, काभ्रेपलाञ्चोक, कास्कीको पोखरा र मकवानपुरमा धेरै पानी परेको छ । आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

आज मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिनसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

महाशाखाले आज र भोलि महाकाली र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने भएकाले महाकालीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह  गरेको छ।

आज बारा, पर्सा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, कास्की, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) , रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ, बाँके, बर्दीया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपास भई बहने तथा केही ससाना नदीहरूमा आकस्मिक बहाबको जोखिम रहने पूर्वानुमान रहेकाले सो क्षेत्र भई वहने  नदी तटीय क्षेत्रहरूमासतर्कता अपनाउ महाशाखाले अनुरोध गरेको छ। सो क्षेत्रमा एसएमएसमार्फत जानकारी पनि पठाइएको छ।

यस्तै संखुवासभा, गोखलढुंगा दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, सुर्खेत, दैलेख, अछाम, बाजुरा र आसपास भई बहने केही ससाना नदीमा पनि बहाव बढ्नसक्ने अनुमान रहेको महाशाखाले जनाएको छ।

यता कास्कीको पोखरा, छोमरोङ, जुम्लेटी लगायत क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। मोदी खोला, मार्दी खोला लगायत सो क्षेत्र भइ बहने स-साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको बताइएको छ । महाशाखाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

गएको जेठ ३१ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन हिजो देशभर फैलिएको छ । अहिले मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।