FLASH NEWS

आज देखि जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण सुरु


नेपाल आवाज १० असार २०८०, आईतवार ११:३० मा प्रकाशित २३७१ पाठक संख्या

काठमाडौं – आज (आइतबार) देखि  जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण सुरु गरिने भएकाे छ।


अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको सो ऐन कार्यान्वयन नगर्न यसअघि दिएको अल्पकालीन आदेश बिहीबार सर्वोच्च अदालतले खारेज गरेपछि सो ऐन कार्यान्वयनमा आएको थियो । राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेसँगै सो ऐन जेठ १७ गते राजपत्रमा प्रकाशित गरिएको थियो । राजपत्रमा प्रकाशित भएको स्वतः कानुन हुने भएकाले कार्यान्वयन स्वतः हुने (परिपत्र जारी गर्न नपर्ने) प्रावधान रहेको छ ।

जिल्ला प्रशासन कार्यालय बारा, सर्लाही, बाँके, बर्दिया, रौतहट, पर्सा, सर्लाही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सिरहालगायतले ऐनबमोजिम नागरिकता लिन संलग्न गर्नुपर्ने कागजात उल्लेख गरी, नागरिकताका लागि सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट सिफारिस गरी पठाउन शुक्रबार नै सार्वजनिक आग्रह गरेको थियो ।

गृह मन्त्रालयले निकालेको तथ्यांकअनुसार २०६५ साल असार मसान्तसम्ममा २ लाख ४० हजार ७ सय २१ जनालाई जन्मसिद्धका आधारमा नागरिकता वितरण गरिएको थियो । जन्मसिद्ध नागरिकता लिनेमा मधेसी मात्र होइन, पहाडी र हिमाली भेगका नागरिकसमेत रहेका थिए ।

जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था अहिलेको संविधानमा छ । तर, कानुनको अभावमा जन्मसिद्धका सन्तानले नागरिकता नपाएको समस्यालाई ऐनले सम्बोधन गरेको थियो । नागरिकता नभएकै कारण बैंकमा खाता खोल्न, उच्च शिक्षा अध्ययन गर्न, रोजगारी गर्न नपाएको समस्या व्यहोर्नुपरिरहेको थियो ।

नागरिकता ऐनमा व्यवस्था गरेअनुरूप जन्मसिद्धका करिब ५ लाख जतिले नागरिकता लिने मन्त्रालयको अनुमान रहेको छ। मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार ऐनमा स्पष्ट भएको विषय तत्काल कार्यान्वयन हुनेछ।