FLASH NEWS

पोखरा महानगरको नीति तथा कार्यक्रम : लेकसाइड २४ घण्टै खोल्ने,पुराना सवारी साधनलाई विस्थापन गर्ने (पूर्णपाठसहित)


नेपाल आवाज १० असार २०८०, आईतवार १६:३९ मा प्रकाशित १४८३ पाठक संख्या

पोखरा – पोखरा महानगरपालिकाले आफ्नो आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ सै घण्टा खोल्न पहल गर्ने भएको छ।


आइतबार १३ औँ नगरसभामा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका मेयर धनराज आचार्यले लेकसाइडलाई २४ सै घण्टा खोल्न पहल गर्ने र उक्त क्षेत्रमा सवारी साधन व्यवस्थापन र रात्रिकालीन व्यवसाय नियमन गर्न उचित कार्यविधि बनाइने बताए।

आचार्यले सर्वोच्च अदालतको आदेश बमोजिम फेवातालको ६५ मिटर मापदण्डलाई कार्यान्व्यनमा लैजाने पनि बताए।

आचार्यका अनुसार हाल लामेआहालमा अस्थायी ल्याण्डफिल्ड साइड सञ्चालन गरिएकोमा फोहोर मेलाको दिगो व्यवस्थान योजना सहित पोखरा–३३, उपल्लो पुँडिटारमा अत्याधुनिक प्रविधिमा आधारित फोहोर प्रशोधन केन्द्र स्थापनाको प्रक्रिया सुरु गरिएको छ ।

यस्तै, फेवातालसहित विश्व रामसार सूचीमा परेका पोखराका अन्य तालको सिमसार र जलाधार क्षेत्रको पनि संरक्षण गरिने महानगरले नीति लिएको छ।

त्यस्तै, अतिक्रमणको चर्को चपेटामा परेको फिर्केखोला संरक्षणका लागि दुवैतर्फ मापदण्ड तय गरिने महानगरले जनाएको छ । मेयर आचार्यले फिर्केको मापदण्ड तय भइसकेपछि फुट्ट्रयाक तथा साइकल लेनको व्यवस्था गरिने जानकारी दिए।

यसबाहेक पोखरा महानगरमा संचालित २० वर्ष माथिका पुराना सवारी साधनलाई विस्थापन गर्दै विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

महानगरपालिकाले एक घर एक विरुवा लगाउने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ मा २ लाख विरुवा रोप्ने पनि घोषणा गरिएको छ ।

महानगरले बाँदर व्यवस्थापनका लागि सामुदायिक वनसँगको सहकार्य गरी नीति ल्याउने भएको छ । त्यसका लागि जंगलमै बाँदरको ‘मन पर्ने’ बाली केन्द्रित अनुसन्धानात्मक परियोजना सञ्चालन गर्ने महानगरले बताएको छ ।

पोखरा महानगरले आगामी आर्थिक वर्षदेखि विपन्न परिवारलाई १० हजार लिटरसम्म निशुल्क खानेपानी वितरण गर्ने जनाएको छ । अहिले महानगर प्रोफाइल सर्वेक्षण गरिरहेको र त्यसपश्चात विपन्न घरधुरी पहिचान गरिने मेयर आचार्यले जानकारी दिए।

महानगरले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगलाई पूर्ण प्रतिवन्ध गर्ने सरकारको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र सार्वजनिक स्थललाई प्लास्टिकका झोला, पानीका बोत्तल बिसर्जन गर्ने र जलाउने कार्य निषेध गर्ने बताएको छ।

त्यस्तै, महानगरले सरकारले प्रावितहका विद्यार्थीलाई दिँदै आएको दिवा खाजा खर्चमा १० रुपैयाँ थप गरिदिने भएको छ । हाल खाजाखर्च वापत १० रुपैयाँ दिइँदै आइएको भए पनि महानगरले त्यसमा १० रुपैयाँ थप गरी २५ रुपैयाँ पुर्‍याउने घोषणा गरेको हो।

विद्यालय शिक्षा सुधार कार्यक्रम लागू गर्न आधारभूत तहमा मातृभाषामा पढाइ सुरु गर्न प्रशिक्षणको तामिलको व्यवस्था गर्ने महानगरले जनाएको छ ।

हरेक वडामा गुनासो सुनुवाइको व्यवस्था मिलाइने र हेलो मेयर सेवालाई थप प्रभावकारी बनाउँदै सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

हेर्नुहोस्  पोखरा महानगरको नीति तथा कार्यक्रम