FLASH NEWS

अख्तियारको टोली पशुपतिनाथमा, सुरक्षा घेराभित्र जलहरी जाँच्दै


नेपाल आवाज १० असार २०८०, आईतवार १७:४४ मा प्रकाशित १८४९ पाठक संख्या

काठमाडाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेली पशुपतिनाथको गर्भगृहलाई पूरै ढाक्ने गरी राखिएको जलहरीमा प्रयोग भएको सुनको नाप जाँच गर्न पशुपति परिसर पुगेको छ ।


निर्धारितभन्दा कम तौलको सुन राखेर जलहरी बनाइएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । नेपाली सेनाको २४ घण्टे पहरामा बनाइएको जलहरीको वास्तविक तौल पत्ता लगाउन अख्तितयारको अनुसन्धान टोली केहीबेरअघि पशुपतिनाथ पुगेको हो ।

आइतबार अपराह्न अख्तियारको टोली जलहरीमा प्रयोग भएको सुनको सत्यतथ्य जाँच्न जाने भएपछि मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपति प्रवेश गर्ने गेटदेखि मुख्य प्रवेशद्वार नै बन्द गराइएको थियो ।

त्यस क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मीहरुले दिउँसैदेखि सुरक्षा प्रदान गरिरहेका थिए ।

जलहरीमा जडित सुनको विषयमा विवाद उत्पन्न भएपछि अख्तियारले नाप जाँच गर्न लागेको हो ।

अहिले मन्दिर परिसरमा सञ्चारकर्मी, सुरक्षाकर्मी र कार्यालय सम्बन्ध व्यक्तिहरुबाहेकलाई प्रवेश दिइएको छैन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालमा १०७ केजी ९२४.७४ ग्राम सुन प्रयोग गरी बनाइएको भनिएको उक्त जलहरीलाई लिएर गत जेठमा संसद् विवाद भएको थियो।

त्यसबेला नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो प्रकरण अख्तियारले छानबिन गरेर टुंगोमा पुर्‍याउने बताउँदै संसद्मा विवाद गर्नु उचित नभएको उल्लेख गरेका थिए।

मन्दिर परिसरलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको घेरामा राखी अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले पशुपति विकास कोषका पदाधिकारी, पुजारीहरु,काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोलीलाई समेत राखेर जलहरीको नापजाँच गरिरहेको छ ।

नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रुपमा सीसीटीभी क्यामरा जडान गरेको छ । आयोगको टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारी एवं विज्ञहरू संलग्न छन् ।

 

यो पनि पढ्नुहोस : ‘पशुपतिको जलहरीमा सुन गायब गरेको भए आफू जस्तोसुकै कारबाही भोग्न तयार छु’ : सदस्यसचिव थापा