FLASH NEWS

मुलुकभर टेलिकमको एफटीटीएच सेवा विस्तार तीव्र


नेपाल आवाज १० असार २०८०, आईतवार १८:४२ मा प्रकाशित १४५३ पाठक संख्या

काठमाडौं – नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्ररुपमा गरिरहेको छ ।


यसका बाबजुद अझैपनि ग्राहकको माग बमोजिम केही स्थानमा यस सेवाको पहुँच स्थापित गर्नेक्रम जारी रहेको टेलिकमले जनाएको छ ।

सेवाग्राहीको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८ डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिर्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।

भोलि सोमबारदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने टेलिकमले जनाएको छ । ती स्थानहरुमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्नेछ ।

नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने पनि टेलिकमले जनाएको छ । एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ ।