FLASH NEWS

जिल्ला निर्वाचन कार्यालयसम्बन्धी निर्णय खारेज नभए प्रतिरोध गर्ने रास्वपाको चेतावनी


नेपाल आवाज ११ असार २०८०, सोमबार १२:२६ मा प्रकाशित १११७ पाठक संख्या

काठमाडाैं – प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला निर्वाचन कार्यालयहरूलाई खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा गाभ्ने सरकारको निर्णय खारेज नभए प्रतिरोध गर्ने चेतावनी दिएको छ ।


रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारलाई बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय प्रशासन कार्यालय मातहत गाभ्ने निर्णय फिर्ता लिन चेतावनी दिएका हुन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर रास्वपाका प्रमुख सचेतक परियारले जनताको मतसँग खेलवाड गरी लोकतान्त्रिक व्यवस्थालाई नै धरापमा पार्ने गरी भएको निर्णय खारेज गर्नुपर्ने बताएका हुन् ।

‘बजेट प्रस्तुत गर्दा जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत राख्ने व्यवस्था गरियो । लोकतन्त्रमाथि भएको षडयन्त्रको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्दछ । यो राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्था हो । यो व्यवस्थामाथि षडयन्त्र गर्न पाइँदैन । स्वतन्त्र र संवैधानिक व्यवस्था भएको निर्वाचन आयोगलाई सरकारको सीडीओ कार्यालय मातहत राख्नु राजनीतिक कुचेष्टा हो,’ उनले भने, ‘यो निर्णयले लोकतन्त्रलाई बलियो बनाउँदैन भन्ने हाम्रो ठम्याइ छ । यसले एकातिर जनताको मताधिकारलाई अप्ठ्यारोमा पार्छ भने अर्कोतिर स्वतन्त्र रूपमा जन्मिएका राष्ट्रिय पार्टीहरूलाई राष्ट्रिय राजनीतिमा बन्देज लगाउने खेल रचिएको छ ।’

जनताले संघर्षबाट ल्याएको लोकतान्त्रिक व्यवस्थालाई कुनै पनि राजनीतिक दल सत्तामा गएको बेला त्यसलाई कमजोर पार्ने निर्णय लिन नहुने परियारको भनाइ छ ।

संवैधानिक निकायहरूमाथि हस्तक्षेप गरिएमा रास्वपालाई स्वीकार्य नहुने उनको भनाइ छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतलाई तत्काल जिल्ला निर्वाचन आयोगबारेका निर्णय फिर्ता लिन चेतावनी दिए ।

‘यो तपाईंको त्रुटिलाई सच्याउनुस्, त्यो निर्णय खारेज गर्नुभयो भने लोकतन्त्रिक व्यवस्था सफल हुन्छ, बलियो हुन्छ । त्यसो गरिँदैन भने रास्वपा यो संविधानभित्र रहेर हामीले गर्नसक्ने सम्पूर्ण विरोध र प्रतिरोध गर्नेछौं,’ उनले भने, ‘लोकतन्त्रको मेरुदण्ड निर्वाचन हो । जनताले आफ्नो स्वेच्छाले प्रतिनिधि छान्न पाउने अधिकारको सुनिश्चत गर्ने, मतदाताको अद्यावधिक गर्ने, मतदाता शिक्षा दलिने र मतदानलाई धाँधलीरहित बनाउने जिम्मेवारी पाएको आयोगको जिल्ला निर्वाचन कार्यालयहरूलाई खारेज गर्ने त्रुटि तत्काल सच्याइयोस् अन्यथा रास्वपा संसद्‌मा विरोध प्रतिरोध गर्छ ।’

रास्वपाले अर्थमन्त्री महतलाई उक्त निर्णय फिर्ता लिन भनेको छ । फिर्ता लिइएन भने अर्थमन्त्रीलाई बहिष्कार गरिने परियारले बताए ।

‘अर्थमन्त्रीलाई विनम्रताका साथ भन्न चाहन्छु यो निर्णय खारेज गर्नुस्, फिर्ता लिनुस् अन्यथा हामीले तपाईंलाई, तपाईंको प्रस्ताव खारेज गर्नुपर्ने हदसम्म जानुपर्ने हुन्छ,’ उनले भने ।