FLASH NEWS

आरजु र सिटौलालाई पक्राउ गर्न निर्देशन दिएका छैनौँ : गृह मन्त्रायल


नेपाल आवाज ११ असार २०८०, सोमबार १९:२३ मा प्रकाशित १९९९ पाठक संख्या

काठमाडाैं- गृह मन्त्रालयले नेपाली कांग्रेसकी नेतृ आरजु देउवा र नेता कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको बताएको छ।


सोमबार आर्थिक दैनिकमा ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’  शीर्षकमा समाचार छापिएको थियो। उक्त समाचार अन्य केही सञ्चारमाध्यमले पनि छापेका थिए। समाचार सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

समाचार प्रकाशन भएपछि सोमबार एक विज्ञप्ति जारी गर्दै  गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले त्यसमा सत्यता नभएको बताएको हो।

‘उपप्रधानमन्त्री एवम् गृहमन्त्रीज्यूबाट कुनै व्यक्तिलक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुठा भएको व्यहोरा अवगत गराउँछु,’ गृहका सहप्रवक्ता केदारनाथ शर्माले बताएका छन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेसँगै सबै मुद्दामा स्वच्छ, निष्पक्ष र दबाबरहित ढङ्गले अनुसन्धान तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरीलगायतका सुरक्षा निकायलाई निर्देशन दिएको तर व्यक्तिलक्षित निर्देशन नदिइएको सहसचिव शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्।

भ्रष्टाचार र अपराध नियन्त्रणलगायतका अनुसन्धान प्रक्रियालाई दबाबरहित बनाई प्रहरी निकायलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहबाट निरन्तर सहजीकरण र निर्देशन हुने गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले सत्यमा आधारित नभइ प्रकाशित यस्ता समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिगभ्रमित पार्न उद्यत् समूहलाई मात्र फाइदा पुग्ने विज्ञप्तिमा उल्लेख छ । यस्ता विषयमा जिम्मेवार समाचार प्रकाशन गर्ने संस्था सतर्क रहनु आवश्यक रहेको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयको कुशासन र भ्रष्टाचारविरोधी अभियानमा साथ दिन र घटनाको निष्पक्ष छानबिन गरी उचित निष्कर्षमा पुर्याउन सबैले सहयोग र्पुयाउनसमेत मन्त्रालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।