FLASH NEWS

पशुपतिको जलहरीमा उद्घाटन गर्नेको नाम लेख्‍नु सामान्य : एमाले सचेतक बर्तौला


नेपाल आवाज ११ असार २०८०, सोमबार २१:१२ मा प्रकाशित १८९७ पाठक संख्या

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले आफ्नो पार्टी नेतृत्वको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको आरोप लगाएका छन् । उनले पशुपतिनाथको जलहरीमा उद्घाटन गर्नेको नाम हुनु स्वभाविक रहेको पनि उनको दाबी छ ।


संघीय संसद् भवनबाहिर सोमबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा सचेतक बर्तौलाले पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनपर्ने र एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको पनि बताए ।

पशुपतिमा सुनको जलहरीको जाँच गर्न अतियार दुरुपयोग अनुसन्धान आयोग जानु/नजानु भन्नेमा एमालेको सरोकारको विषय नभएको र सरकारले आफ्नो ढंगले काम गर्न पाउने उनको धारणा थियो ।

‘पशुपतिको जलहरीमा कहीँ कतै बदमासी भएको छ भने बदमासी गर्नेहरूलाई कारबाही गर्नुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ । कठघरामा ल्याउनुपर्छ । हामीसँग सरोकारको विषय होइन यो, सरकारले के रहेछ सत्यतथ्य त्यो बाहिर ल्याउनुपर्छ,’ उनले भने, ‘एमाले यस्तो बदमासीमा महिले पनि मुछिँदैन । अख्तियार कहाँ गएर के खोजी गर्छ, त्यो उसको विषय हो । नेकपा एमालेका नेता जोडिएका केही घटना, काण्डहरु छन्, भने त्यस्ता घटनाहरुमा छानबिन होस् । हामी हाम्र कोही पनि नेताहरुलाई गलत काम गरेको भए बचाउन लाग्दैनौँ । कुनै गलत काम हामीबाट भएको छैन ।’

सचेतक बर्तौलाले पशुपतिको जलहरीबारे अख्तियारको प्रतिवेदन आएपछि बोल्न उचित हुने बताए । ‘पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वसंस्कृतिमन्त्रीको नाम लेखियो भन्नेकुरा पूर्वाग्रहपूर्ण हो, केपी ओलीको लोकप्रियता छ, राष्ट्रले भरोसा गरेको छ, त्यसको विरुद्धमा यो आएको हो । त्यही पनि यसको सत्यतथ्य रिपोर्ट आएपछि मात्रै यसबारेमा बोल्न सकिन्छ । उहाँको सरकारको पालामा, नेतृत्व रहेका बेलामा काम भएको कुरामा सामान्य कुरा हो । यस्तो सामान्य कुरामा पनि अल्झिएर बस्नु, टिप्पणी जोड्न थाल्छौँ । मेरा पनि कति स्थानमा नाम लेखिएका छन् । कतै ताम्रपत्र, फलाममा छ, कतै चाँदीकैमा नाम मेरैमा लेखिएको छ,’ उनले भने ।

सचेतक बर्तौलाले देशको नेतृत्व गरिसकेको मानिसको नाम उद्घाटन गरिएको ठाउँमा लेखियो भनेर बस्नु तर्क गर्ने अर्को ठाउँ नपाउनु भएको बताए ।