FLASH NEWS

शिवशिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ, अर्बाैं ठगी गरेको आरोप


नेपाल आवाज १२ असार २०८०, मंगलवार १२:१६ मा प्रकाशित १२०१ पाठक संख्या

काठमाडौं – भक्तपुरस्थित शिवशिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन् ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई भारतको मुम्बइमा पक्राउ गरी नेपाल ल्याएको छ ।

शर्मामाथि सहकारीमा रहेको सर्वसाधारणको १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेको छ । मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेको सीआईबी स्रोतले बताएको छ ।

भक्तपुरमा शिवशिखर सहकारी सञ्चालन गर्दै आएका शर्माले नै मोरङमा तुलसी सहकारी संस्था खोलेका थिए । सहकारीमा राखेको बचत फिर्ता नपाएपछि सर्वसाधारणले सिआइबी र सहकारी विभागमा उजुरी दिएका थिए।

बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि पनि फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरूले जाहेरी दरखास्त दिएपछि सिआइबीले अनुसन्धान सुरु गरेको थियो।

मोरङस्थित तुलसी सहकारीमा निक्षेप हिनामिना भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुन विपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्महरूमा लगानी गरेको भेटिएको प्रहरीले जनाएको छ ।

सीआईबीले बचत गरेको रकम हिनामिना गरी नदिएको भएमा प्रमाणसहित ब्युरोमा सम्पर्क गर्न बचतकर्तालाई अनुरोध गरेको छ ।

शर्माले भारतमा पनि संस्था खोलेको पाइएको छ । प्रहरी स्रोतका अनुसार उनले भारतमा श्रीमती गीताको नाममा शिखर अर्गनाइजेसन नामको संस्था खोलेको पाइएको सीआईबीका एक अधिकृतले बताए । उनकी श्रीमती गितालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।