FLASH NEWS

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन- अर्थमन्त्री


नेपाल आवाज १२ असार २०८०, मंगलवार १४:३८ मा प्रकाशित १२३१ पाठक संख्या

काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने प्रष्ट पारेका छन् ।


आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारले तयारी गरेको भन्दै एमाले र रास्वपाको अवरोधपछि बैठकमा बोल्दै अर्थमन्त्री महतले निर्वाचन आयोगको स्वतन्त्रताको पक्षमा आफूहरू रहेको बताए।

‘हामीले निर्वाचन आयोगको स्वतन्त्रतालाई कत्ति पनि तलमाथि पार्न दिँदैनौँ । यो हाम्रो विश्वास हो’, मन्त्री महतले भने, ‘जिल्ला निर्वाचन कार्यालयहरु अझ स्वतन्त्र र प्रभावकारी बनाउन पहल गरिनेछ, खारेज हुनेछैन ।’

यसअघि आजको बैठकमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गरी सिडिओ कार्यालयमातहत ल्याउने प्रस्तावको विरोध गरेका थिए । उनीहरुको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

अर्थमन्त्री महतले निर्वाचन आयोगको स्वतन्त्र अस्तित्वको पक्षमा आफूहरु अडिग रहेकाले यसमा कुनै शङ्का उत्पन्न हुन नदिन सरकारको सम्पूर्ण कोसिस रहने समेत प्रतिबद्धता व्यक्त गरे । उनले आगामी आर्थिक वर्षको बजेटमा विभिन्न कार्यालयको पुनरावलोकन गर्ने क्रममा जिल्ला निर्वाचन कार्यालयको सन्दर्भ उल्लेख गरिएको दाबी गरे ।

अर्थमन्त्री डा. महतले आर्थिक मितव्ययीताका लाागि कतिपय कार्यालयका सम्बन्धमा निष्कर्षमा पुग्नुपरेको भए पनि जिल्ला निर्वाचन कार्यालय ‘खारेजी’ भन्ने शब्दावली बजेट वक्तव्यमा पर्न गएको बताए ।