FLASH NEWS

ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ, संख्या ७ पुग्यो


नेपाल आवाज १२ असार २०८०, मंगलवार १५:१६ मा प्रकाशित १५३७ पाठक संख्या

काठमाडौं – ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै यो सङ्ख्या थपिएको हो ।


एआईजी किरण बर्जाचार्यका अनुसार शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् । शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए ।

अनुसन्धानका क्रममा ललिता निवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको देखिएको थियो। सीआईबीले उक्त जग्गामा शाहको समेत मिलेमतोको रहेको भन्दै उनलाई पक्राउ गरेको बताइएको छ ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले  भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा,  डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की,  कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

गुरुङसहित पक्राउ परेका ६ जनाविरुद्ध सरकारी कागजात किर्तेमा म्याद थप गरेर मुद्दा अघि बढाउने तयारी भइरहेको छ।