काठमाडौं – प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि संसदको विश्वास घटेको बताएका छन् ।
प्रतिनिधिसभाले पहिलो पटक मत विभाजनमार्फत बजेट अनुमोदन गरेपछि प्रतिक्रिया व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेता ओलीले ९९ प्रतिशत समर्थन रहेको सरकारको समर्थन घटेर ५३ प्रतिशत बनेको बताए ।
‘सरकारमाथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत थियो । अहिले ५३ प्रतिशतमा घट्यो । के भन्दा के हुनुपर्यो ?’ ओलीले भने । प्रतिनिधिसभाको बैठकमा एमालेले विनियोजन विधयकमाथि मत विभाजन मागेपछि मतदान भएको थियो । पक्षमा १ सय ४७ र विपक्षीमा १ सय ८ मत परेको थियो । संसदले पहिलो पटक मत विभाजनमार्फत आर्थिक विनियोजन विधेयक पारित गरेको हो ।
बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले ध्वनीमतले पारित गर्न खोज्दा एमालेका सचेतक महेश बर्तौलाले मत विभाजन माग गरेका थिए । उनीको माग लगत्तै सभामुख घिमिरेले मत विभाजनको प्रक्रिया सुरु गरेका थिए ।
यसअघि नै सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितका दलहरुले बजेट हुबहु पारित गर्न ह्वीप जारी गरेका थिए ।