FLASH NEWS

इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा


नेपाल आवाज १४ असार २०८०, बिहीबार ०६:१६ मा प्रकाशित १३२७ पाठक संख्या

काठमाडौं –  मुस्लिम धर्मावलम्बीको मुस्लिम समुदायको महान् पर्व इद-उल-अज्हा (बकर इद) आज देशभर मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।


मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

यस अवसरमा दरबार मार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ ।

मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर इद मनाउँछन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।

मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद)को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्दै इस्लाम धर्मावलम्बीले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने बताए ।

“यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुनेछ, हाम्रो विविधताबीचको एकताले नै राष्ट्रियता र राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउन योगदान गर्नेछ भन्ने मेरो विश्वास छ”, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले बकर इद पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गरेका छन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले बकर इदको अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

यो पर्वलाई शान्ति तथा व्यवस्थित विकासका लागि प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गर्ने सु-अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन यो पर्वले योगदान पुग्ने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति यादवले आपसी रिस, राग, वैमनस्यता, उच्छृङ्खलता, द्वन्द्व, द्वेषलाई बिर्सेर परस्पर खुसी, सद्भावका साथ शुभकामना आदान–प्रदान गर्न यो पर्वले उत्प्रेरित गर्न सकोस् भनी कामना प्रकट गरेका छन् ।

यस्ता पर्वहरुले विभिन्न जातजाति, सम्प्रदाय, वर्ग, समुदाय तथा समाजको मौलिक संस्कृति र रहनसहनलाई सम्वर्द्धन र संरक्षण गर्दै जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा टेवा पुग्ने उल्लेख गरेका छन् ।

विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज, परम्परा र संस्कारले आपसी सहिष्णुतालाई थप प्रगाढ बनाउन र नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन इद–उल अज्हा पर्वले सहयोग गर्ने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति यादवले मुलुक निर्माण र व्यवस्थित विकासको मार्गमा द्रुतगतिले लम्कन सफल होस् भनी शुभकामना सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन् ।

स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदायलगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो देश संविधानतः धर्म निरपेक्ष राज्य भएको उल्लेख गरेका छन् ।

बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् भन्दै प्रधानमन्त्री प्रचण्डले यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको बताए ।

“सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने बकर इदले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने विश्वास लिएको छु । प्रेम र सद्भाव आदानप्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदाय र नेपालीहरूमा स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न अभिप्रेरित गर्ने विश्वाससहित फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु”,शुभकामना सन्देशमा भनिएको छ ।