FLASH NEWS

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु


नेपाल आवाज १४ असार २०८०, बिहीबार ०८:२७ मा प्रकाशित २५०९ पाठक संख्या

काठमाडौं –  साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ ।


अल जजिराका अनुसार यो घटना बुधबार भएको हो । समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए ।

त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । त्यही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको बताइएको छ ।

मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगाना खुलाइएको छैन । साउदी प्रेस एजेन्सी (एसपीए)ले पनि घटनामा अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका नेपालीको मृत्यु भएको जनाएको छ । उद्यपी उनको पहिचान खुलाइएको छैन ।

यो घटनामा अमेरिकी नागरिकलाई केही पनि नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी अधिकारीहरु साउदी अरबका अधिकारीहरुसँग सम्पर्कमा रहेको र घटनाको अनुसन्धान गरिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।