FLASH NEWS

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी पुन:स्थापित


नेपाल आवाज १४ असार २०८०, बिहीबार १५:५८ मा प्रकाशित १७०५ पाठक संख्या

काठमाडौं – अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निकालेको पशुपतिनाथ मन्दिरको सुनको जलहरी पुन:स्थापित गरिएको छ।


पशुपतिनाथ मन्दिरको गर्भगृहमा झण्डै ११ घण्टाको अनवरत सहकार्यपछि जलहरी पुनर्स्थापित गरिएको हो । उक्त कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी, सेना तथा पशुपति विकास कोषका प्रतिनिधिहरूको उपस्थिति थियो।

गत आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको गर्भगृहबाट सुनको जलहरी निकालेर अनुसन्धान (नापजाँच) गरेको थियो।

सुनका ३ वटा रिङ, बासुकी नाग १, जलधारा १, जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएको थियो। स्रोतका अनुसार यसको तौल १०६.४३२५ किलो रहेको बताइएको छ। त्यस्तै प्रयोगमा नआएको भनिएको सुनका २७ थान किला, पाता १, तार ७, ५ थान टुक्रा पनि नापजाँच भएको थियो। त्यसको परिमाण १.०३५७५ किलो रहेको बताइएको छ। यो सबै परिमाण जोड्दा १०७.४६८२५ किलो हुने स्रोतले बताइएको छ। पशुपति क्षेत्र विकास कोषले १०७ किलो ७९८ ग्राम सुन प्रयोग भएको बताएको थियो।

उजुरीको दुई वर्षपछि नापाजाँच गरेको जलहरीमा सुनको मात्र ठिक भए नभएको विषयको अन्तिम निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरिसकेको छैन । केही दिनपछि विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

जलहरीको नापतौल भइरहँदा अर्को नयाँ विषय चर्चामा आयो । जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाको नाम कुँदिएको समाचार केही सञ्चारमाध्यममा आएपछि यस विषयमा पशुपति विकास कोष र अख्तियारसँग बुझ्दा जलहरीमा तत्कालीन पदाधिकारीहरुको नाम कुँदिएको अस्वीकार गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेका कुराहरु सत्य नभएको बताए । उनले भित्तामा राखिएको उद्घाटन प्लेटमा परम्परागत प्रचलनअनुसार तत्कालीन राष्ट्रपति, प्रधानमन्त्रीलगायतको नाम उल्लेख रहेको स्पष्ट पारे । अख्तियार स्रोतले पनि जलहरीमा कसैको नाम नभएको बतायो ।