FLASH NEWS

योगेशले भनेः ‘एमालेलाई हमला गरेर कोशीको समस्या समाधान हुँदैन’


नेपाल आवाज १४ असार २०८०, बिहीबार १८:३४ मा प्रकाशित १२४९ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् ।


कोशी राखिएको प्रदेश १ को नाम पुन:नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमसहितको टोलीले भट्टराईलाई इलाम सदरमुकाममा आक्रमण प्रयास गर्दै कालो झण्डा देखाएका थिए । भट्टराई सवार गाडीमै आक्रमण प्रयास भएपछि प्रहरीले जोगाएको थियो।

आफूलाई कालो झण्डा देखाएको प्रसंग उल्लेख गर्दै भट्टराईले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन ।’ उनले बिरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्ने बताउँदै उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् ।

‘आज मलाई कालो झन्डा देखाउनेहरुको अधिकारका लागि म स्वयम र मजस्ता लाखौंले लडेर ल्याएको बिरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभुती भएको छ,’ उनले लेखेका छन् ।