FLASH NEWS

पशुपतिनाथ मन्दिरको जलहरीको विवाद म सँग सम्बन्धित होइन: केपी ओली


नेपाल आवाज १४ असार २०८०, बिहीबार १९:२२ मा प्रकाशित १४७७ पाठक संख्या

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा भइरहेको विवाद आफूसँग सम्बन्धित नभएको बताएका छन्।


धान दिवसको कार्यक्रममा सहभागी हुन बिहीबार चितवन पुगेका उनले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको बताए ।

‘मैले त पशुपति विकास कोषलाई पैसा दिनेमात्रै हो। अरू काम उनीहरूले कस्तो गरे, के गरे मसँग सम्बन्धित विषय होइन। खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित विषय होइन नि’, उनले भने। ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको । अलिक दिन त्यसले पनि मार्केट पायो ।’ अलिक पछि त्यो सुन नै नचढाएको भन्ने थाहा भएको उनले बताए । एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘अलिक पछि ११ किलो सुन कहाँ गयो भन्ने थाहा भयो होला तौलिएपछि । यो मेरो विषय हो र तपाईहरुले मलाई सोधेको ?’

ओलीले शिलान्यास, उद्घाटन गर्नेको नाम लेख्ने चलन सबैतिर भएकाले जलहरीमा आफ्नो नाम लेखिनु स्वाभाविकै भएको बताए।

पशुपतिनाथमा सुनको जलहरी निर्माणका क्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीको दुई वर्षपछि छानबिन गरिरहेको छ । छानबिनका क्रममा १० असारमा जलहरीको तौल र गुणस्तर मापन गरिएको थियो । जलहरीमा सुनको मात्र ठिक भए नभएको विषयको अन्तिम निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरिसकेको छैन । केही दिनपछि विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।