FLASH NEWS

ललिता निवास प्रकरण : पक्राउ परेका आरोपितहरुले दायर गरेकाे रिटमाथि सुनुवाइ हुँदै


नेपाल आवाज १५ असार २०८०, शुक्रबार ११:३६ मा प्रकाशित १४४१ पाठक संख्या

काठमाडौं –  ललिता निवास जग्गाअनियमितता प्रकरणमा पक्राउ परेकामध्ये तीन आरोपितहरुले दायर गरेकाे बन्दीप्रत्यक्षीकरणक सम्बन्धी रिटमाथि आज सुनुवाइ हुने भएकाे छ ।


सुधिर कुमार शाह, धर्म प्रसाद गौतम र मिन बहादुर गुरुङले सर्वोच्च अदालतमा दायर गरेकाे बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुन लागेकाे हाे । उनीहरु तीनै जनाले आफूहरुलाई विनाशर्त रिहा हुनुपर्ने माग राखेका छन् ।

उनीहरुको रिट सुनुवाईका लागि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा परेको छ ।

उनीहरुले नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

पक्राउ परेलगत्तै उनीहरुका तर्फबाट असार १३ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेस गरिएको थियो। ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाएको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले उनीहरूलाई मंगलबार पक्राउ गरेको थियो ।

उनीहरुको निवेदनमा हदम्याद नभएको मुद्दाको अनुसन्धानका क्रममा आफूहरुलाई पक्राउ गरिएको र गैरकानुनी रुपमा न्यायिक हिरासतमा राखिएको दाबी गरिएका छन्। हदम्याद सकिएको अवस्थामा आफूहरुमाथि किर्तेको अभियोगमा अनुसन्धान गर्न खोजेको उनीहरुको जिकिर छ ।

ललिता निवास जग्गा अनियमिततामा मुछिएकाहरुमध्ये १७ जनाले १५ महिनाअघि नै सर्वोच्च अदालतबाट अन्तरिम आदेश (स्टे अर्डर)लिएर बसेका थिए । जसमध्येका ३ जना सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसी पक्राउ परेकै दिन गत मंगलबार रिहा भएका थिए। त्यही बाटो समाउन अरु आरोपितहरु पनि बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत गएका हुन् ।