FLASH NEWS

नारायणगढ–मुग्लिन सडक : गुडिरहेको कारमाथि पहिरो खस्यो


नेपाल आवाज १६ असार २०८०, शनिबार १०:४७ मा प्रकाशित १७७७ पाठक संख्या

चितवन – बिहीबार मध्यान्हदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड पूर्ण रूपमा खुलिसकेको छैन।


बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि अवरुद्ध सडक झण्डै २८ घण्टापछि शुक्रबार साँझदेखि खुलाइएको थियो। तर पुन: शनिबार बिहान खसेको पहिरोले केहीबेर सडक अवरुद्ध भएको थियो।

सडक डिभिजन भरतपुरबाट ल्याइएको मेसिनले पहिरो पन्छाएपछि केहीबेर अघि सुचारु भएको उक्त सडकखण्डमा शनिबार बिहान १० बजे पुन: पहिरो खसेको छ। अहिले सडक एकतर्फी सञ्चालनमा छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको तुइनभिरमा गुडिरहेको कारमाथि पहिरो खसेको घटनास्थलबाट ईश्वर क्षेत्रीले बताएका छन्।

उनका अनुसार बागमती प्रदेश ०२५ च २१८१ नं. को कारमाथि पहिरो खसेको थियो। कारमा सवार यात्रु सकुशल रहेको उनले बताए। कारमा सवार यात्रुले भागेर ज्यान बचाएका थिए । त्यस्तै गएराति पनि सोही ठाउँमा ढुङ्गा खसेर लाग्दा कारमा क्षति पुगेको थियो।

सडक बिस्तार र तुइन खोलामा नयाँ पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काटेको स्थानमा पहिरो झरिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए।

यति बेला भारी वर्षा भइरहेको र ठाउँठाउँमा माथिबाट ढुंगा झर्न नरोकिएकोले सवारि साधन सावधानीका साथ चलाउन प्रहरीले अनुरोध गरेको छ ।

पहिरो झरि सडक अबरुद्ध भईरहने हुनाले उक्त स्थानमा अपरेटर सहितको मेशिन तैनाथ रहेको छ ।

मुख्य लाइफलाइन मानिएको यो सडकखण्ड हुँदै दैनिक औसतमा १० हजारभन्दा धेरै सवारीसाधन आवतजावत गर्छन् । बाटोको अवस्था हेरि सुरक्षित यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।