FLASH NEWS

भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, थप तीब्र बनाइन्छ : प्रधानमन्त्री प्रचण्ड


नेपाल आवाज १६ असार २०८०, शनिबार १४:५३ मा प्रकाशित १५६७ पाठक संख्या

पोखरा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताएका छन् । शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरूद्वको अभियानले थप तीव्रता पाउने बताएका हुन् ।


‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो। बिनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ, प्रधानमन्त्रीले भने, ‘यसपटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौँ। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ। विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ।’

भ्रष्टाचार देशको बिकराल समस्या हो। नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ। अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो। तर, अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ। यसपटकको भारत भ्रमण ऐतिहासक भएको छ। राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन्। भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो।यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैन,’ प्रधानमन्त्रीले भने ।

प्रचण्डले भने, ‘पारवाहन सन्धि पुनरावलोकन पनि महत्वपूर्ण निर्णय हो। विद्युत व्यापार सम्झौता पनि सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन। यसले विद्युत व्यापार पनि बढ्छ, लगानीको ढोका पनि खुल्छ। यो आउने पिँढीले पनि सम्झिरहने काम हो।’

‘राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको छु। छिट्टै चीन भ्रमण हुँदैछ, त्यसको तयारी भएको छ। त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ, उनले भने’ ‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ। यो कसैले हिलाएर हिल्दैन। हामी समझदारीका साथ अगाडि बढ्छौँ।’