FLASH NEWS

कोशी सरकारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष लिङ्देनलाई


नेपाल आवाज १६ असार २०८०, शनिबार १८:०७ मा प्रकाशित १४२९ पाठक संख्या

काठमाडौं – कोशी प्रदेशको सरकार गठनका लागि निर्णयक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।


आज राप्रपा प्रदेशसभा संसदीय दलका नेता, सांसदहरु तथा पार्टीका पदाधिकारीहरुसहित अध्यक्ष राजेन्द्र लिङ्देनले झापास्थित आफ्नै निवासमा छलफल गरेका थिए । छलफलले सरकारमा सहभागिताको निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको छ ।

राप्रपाले काँग्रेस, माओवादीसहितको नयाँ सत्ता समीकरणमा सामेल हुने राप्रपाले सङ्केत गरेको हो । नयाँ गठबन्धन सरकारमा सहभागी हुने कि नहुने भन्ने निर्णय केन्द्रीय अध्यक्षको हुने राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाको भनाई छ ।

लिङ्देन निवास झापामा बसेको पार्टीको बैठकले कोशी प्रदेशमा सम्भावित मध्यावधि निर्वाचन रोक्न हुनसक्ने प्रयास र नयाँ सरकार गठन प्रक्रियामा राप्रपाको भूमिकाको विषयमा छलफल भएको थियो ।

नयाँ सरकार गठन गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको दावी छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारको नेतृत्वको टुंगो शीर्ष नेताहरुले लगाउने जानकारी दिँदै त्यसबारे आफूहरुबीच समझदारी रहेको बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिँदा बहुमत पुर्याउन नसकेपछि नयाँ सरकार गठनको दौडधुप चलिरहेको छ । प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान भने आइतबार मात्र गर्ने तयारी गरेका छन् ।