FLASH NEWS

नारायणगढ–मुग्लिन सडकखण्ड राती ११ बजे देखी पूर्ण रुपमा अवरुद्ध


नेपाल आवाज १७ असार २०८०, आईतवार ०६:३५ मा प्रकाशित १७१७ पाठक संख्या

चितवन – पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन देखि २ किलोमिटर नारायणगढ तर्फ तुईन खोला तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले राती ११ बजे देखी सडक पूर्ण रुपमा अवरुद्व भएको हो ।


लगातार २७ घण्टा अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आएको थियो । तर राति ११ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सयौं सवारी साधन रोकिएका छन् ।

डिभिजन सडक कार्यालय चितवनले वर्षातको समयमा सो ठाउँहरुमा जुनसुकै समय पहिरो खस्न सक्ने भएकाले एक्साभेटर तयारी अवस्थामा राखेको छ । अहिले तीनवटा स्काभेटरले पहिरो पन्छाउन सुरु गरिएको छ । सडक खुल्न ५/६  घन्टा लाग्ने मुग्लिनस्थित प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

काठमाडौंबाट आएका सवारी फिस्लिङ, कुरिनटार, मुग्लिनबजारमा रोकिएको छ। २ पाङ्ग्रे सवारी हुनेहरूले बैकल्पिक सडक हुक्दी खोला – मायाटार -बासपुर- उपरदाङ्गढी-शक्तिखोर हुँदै नारायणगढ निस्कन सकिने छ ।

नारायणगढतर्फबाट आउने सवारी आँपटारी, रामनगर, जुगेडी, दासढुंगामा रोकिएको छ। साना सवारीका लागि हेटौंडा–पालुङ–नौबिसे, हेटौंडा–भीमफेदी–दक्षिणकाली हुँदै काठमाडौं जाने वैकल्पिक बाटो छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्तो काटिएका ठाउँमा पहिरोको जोखिम उच्च छ ।

नारायणगढबाट मुग्लिनतर्फ १४ किलोमिटर, १५ किलोमिटर र १६ किलोमिटरमा पहिरोको जोखिम छ । १७ किलोमिटरमा यसपटक पहिरो खसेको छ । १८ किलोमिटरमा गत वर्षझै यसवर्ष पनि पहिरोको जोखिम देखिएको छ । २० किलोमिटर अर्थात् सेती दोभान र २१ दशमलव चार किलोमिटर मौरीपुल, २३ किलोमिटरको सिमलताल पनि पहिराको जोखिममा छन् ।

३२ दशमलव चार किलोमिटरको नाम्सी पुल नजिक गत वर्षझै यस वर्ष पनि पहिरो खसेको छ । ३२ दशमलव ८ किलोमिटरको कालिखोलामा पहिरो जोखिम छ ।

सडकको माथिल्लो भागमा खोलिएका शाखा बाटो र भौगोलिक कारणले पहिराको जोखिम उच्च रहेको डिभिजन सडक कार्यालयका इञ्जिनियर सागर कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले वर्षात्को समयमा यो सडक जोखिमपूर्ण भएकाले सावधानीपूर्वक यात्रा गर्न,रातिको समयमा सकेसम्म यात्रा नगर्न, सडक लेनको पूर्ण पालना गर्न र पहिरो पन्छाउने टोलीसँग समन्वय गरेर मात्रै हिँड्न आग्रह गरे । यससँगै वैकल्पिक सडकमार्गको प्रयोग गर्न र पहिरो खसेको छ छैन यकिन गरेर मात्रै हिँड्न उनको सुझाव छ ।

काठमाडौं भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडकखण्डको यात्रा पहिरोका कारण कष्टकर र अनिश्चित बनेको छ । ठाउँ ठाउँमा बारम्बार पहिलो झर्दा सडक बन्द हुने र खुल्ने कुनै टुंगो हुन छाडेको छ । यो सडकखण्ड हुँदै दैनिक औसतमा १० हजारभन्दा धेरै सवारीसाधन आवतजावत गर्छन् ।