FLASH NEWS

सरकारलाई दिएको समर्थन फिर्ता नलिन सिके राउतलाई प्रचण्डको आग्रह


नेपाल आवाज १७ असार २०८०, आईतवार १०:४१ मा प्रकाशित १२९१ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ ।


उनीहरुबीच आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा राउत नेतृत्वकाे पार्टीले सरकारलाई दिएकाे समर्थन के गर्ने भन्ने विषयमा छलफल भएको जनाइएको छ ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले समर्थन फिर्ता नलिन आग्रह गरेको बताइएको छ। उनले  आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि जनमतलाई सरकारमा समेट्ने आश्वासन दिएका छन्।

पछिल्लो समय जनमतलाई सरकारमा समेट्न ढिला गरेकाले प्रचण्डसँग सिके राउत रुष्ट छन् ।

प्रधानमन्त्री प्रचण्डले गत पुस ११ गते शपथ लिए लगत्तै जनमतले कृषि र उद्योग मन्त्रालय मागेको थियो ।

पहिलो चरणमा जनमतले खानेपानी मन्त्रालय पाएकाले अब्दुल खानलाई मात्रै पठायो । प्रचण्डले तत्काल खानेपानी मन्त्रालय लिए पनि पछि अर्को मन्त्रालय फेर्ने बचन दिएका थिए ।

तर,अन्तिममा खानेपानी मन्त्रालयबाट सुरुवा नहुनुका साथै थप अर्को मन्त्रालय नपाएपछि खानले गत चैत १७ गते राजीनामा दिएका थिए । जनमत पार्टीका मन्त्री खानले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो ।

तर आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएपछि जनमतले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने तयारी गरेको छ। यदि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिनुपर्ने देखिएको छ । तर, कतिपय संविधान विद्हरूले भने अर्को पटक विश्वासको मत लिन नपर्ने तर्क पनि गरेका छन् ।