FLASH NEWS

नासु कुटेको विरोधमा देशभरिका अदालतमा कर्मचारीले रोके काम


नेपाल आवाज १७ असार २०८०, आईतवार १२:१६ मा प्रकाशित १०७५ पाठक संख्या

काठमाडौं – सर्वोच्च अदालत अन्तर्गतका राष्ट्रियस्तरका चार वटै कर्मचारी संगठनको आह्वानमा आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । न्यायालयका कर्मचारीहरुले आज दिउँसो साढे १ बजेसम्म काम रोक्ने छन् ।


यही असार १३ गते जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई कानून व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको विरोधमा न्यायालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

अधिवक्ता लामिछानेले फाँटमा कार्यरत तामाङलाई सक्कल मिसिल माग गर्दा सक्कलै मिसिल दिन नमिल्ने बताएपछि लामिछानेले अपशब्द प्रयाग गर्दै हातपात गरेको ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले बताएका छन् ।

तामाङले ‘तपाईंले जुन–जुन कागजात अध्ययन गर्ने हो सो को नक्कल लिएर जान सक्नुहुन्छ’ भन्दा लामिछानेले ‘तैले के गर्न सक्छेस् गर्’ भन्दै हातपात गरेको बताइएको छ ।

नासु तामाङमाथि आक्रमण भएको विरोधमा ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले शुक्रबारदेखि नै ‘पेन डाउन’ गरेका छन् । कानून व्यवसायीहरुबाट कर्मचारीहरुलाई धम्की र दबाब आएको भन्दै उनीहरुले शुक्रबारदेखि नै काम गर्न नसक्ने भनेर पेन डाउनको निर्णय गरेका हुन् ।

न्यायालयका कर्मचारीहरुले नासु तामाङमाथि हातपात गर्ने लामिछानेलाई कानुन अनुसार कारबाहीको माग गरेका छन् । नासु तामाङले अधिवक्ता लामिछाने विरुद्ध असार १३ गते नै जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी छिन् ।