FLASH NEWS

नारायणगढ–मुग्लिन सडकः पहिरो पन्छाउन अझै केही समय लाग्ने


नेपाल आवाज १७ असार २०८०, आईतवार १४:३२ मा प्रकाशित २१०७ पाठक संख्या

चितवन –  नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै केही समय लाग्ने भएको छ ।


चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन देखि २ किलोमिटर नारायणगढ तर्फ तुईन खोला तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले राती ११ बजे देखी सडक पूर्ण रुपमा अवरुद्व छ ।

दुई वटा स्काभेटर र दुई वटा लोडर परिचालन गरेर पहिरो पन्छाउने कार्य गरिरहे पनि सडक खुलाउन अझै केही समय लाग्ने ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

आज बेलुकासम्म दुईतर्फी नै सडक सञ्चालनमा आउन सक्ने उनको भनाइ छ । “बिहानैदेखि पहिरो हटाउने कार्य भइरहेको छ । झर्ने क्रम पनि छ । समय लाग्छ । मेसिनले हटाउने हो,” उनले भने, “बेलुकासम्म खुल्छ भन्ने अपेक्षा गरेका छौँ ।”

गएको बिहीबारयता उक्त क्षेत्रमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने र खुलाउने कार्य भइरहेको छ ।

सडक अवरुद्ध हुँदा सवारीसाधन र यात्रु बीचबाटोमा रोकिएका छन् । काठमाडौंबाट आएका सवारी फिस्लिङ, कुरिनटार, मुग्लिन बजारमा रोकिएको छ। २ पाङ्ग्रे सवारी हुनेहरूले बैकल्पिक सडक हुक्दी खोला – मायाटार -बासपुर- उपरदाङ्गढी-शक्तिखोर हुँदै नारायणगढ निस्कन सक्छन् ।

नारायणगढतर्फबाट आउने सवारी आँपटारी, रामनगर, जुगेडी, दासढुंगामा रोकिएको छ। साना सवारीका लागि हेटौंडा–पालुङ–नौबिसे, हेटौंडा–भीमफेदी–दक्षिणकाली हुँदै काठमाडौं जाने वैकल्पिक बाटो छ ।

काठमाडौं भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो नारायणगढ–मुग्लिन सडकखण्डको यात्रा पहिरोका कारण कष्टकर र अनिश्चित बनेको छ । ठाउँ ठाउँमा बारम्बार पहिलो झर्दा सडक बन्द हुने र खुल्ने कुनै टुंगो हुन छाडेको छ । यो सडकखण्ड हुँदै दैनिक औसतमा १० हजारभन्दा धेरै सवारीसाधन आवतजावत गर्छन् ।