FLASH NEWS

प्रधानमन्त्री प्रचण्डसहित ३ दलका शीर्ष नेतासँग छलफल गर्दै सभामुख घिमिरे


नेपाल आवाज १९ असार २०८०, मंगलवार १०:३७ मा प्रकाशित १३९३ पाठक संख्या

काठमाडौं – सभामुख देवराज घिमिरेले मंगलबार प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछन् ।


सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएका हुन् ।

सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसद्लाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ पनि सहभागी हुने तय भएको छ ।

वैशाख १५ गते प्रतिनिधिसभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक-पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरूले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन् ।