FLASH NEWS

भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि


नेपाल आवाज २० असार २०८०, बुधबार ००:०५ मा प्रकाशित १३७५ पाठक संख्या

काठमाडौं – भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । मंगलबार बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै भारतले उपाधि उचालेको हो ।


निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

शबैश अल खाल्दीले खेलको १४ औं मिनेटमा गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । लल्लियान्जुआला चाग्तेले ३८ औं मिनेटमा गोल गर्दै भारतलाई बराबरीमा ल्याउन सफल भए ।

पेनाल्टी सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत प्रतियोगिताको च्याम्पियन बनेको हो ।

समूह चरणको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

भारतले नवौं पटक साफ च्याम्पियनसिप प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ । भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो ।

प्रतियोगिताको १४ वर्षमा भारत ९ पटक च्याम्पियन बनेको हो । उपाधिसँगै भारतले ५० हजार अमेरिकी डलर रुपैयाँ प्राप्त गर्न सफल भएको छ । उपविजेता कुवेतले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।