FLASH NEWS

माओवादी शक्तिहरु एकताबद्ध भएर २०६४ को भन्दा बलियो शक्ति बन्दैछौं: प्रचण्ड


नेपाल आवाज २० असार २०८०, बुधबार १४:४५ मा प्रकाशित १३३३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयभित्र सबै माओवादीहरु एकै ठाउँमा आउने दाबी गरेका छन् ।


पार्टी निकट अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै माओवादीहरु विभाजित हुँदा भ्रम छर्ने र सखाप पार्न विभिन्न शक्तिहरु लागेको बताए ।

उनले भने, ‘हामीलाई घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादी रणनीति थियो । हाम्रा सिंग छन्, दाह्रा छन् भनेर अपराधीकरण गरियो । हामीलाई सखाप पार्ने अभियानको प्रतिवाद गरेर अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं । अहिले पनि प्रतिक्रियावादी जाली, फटाहाहरुको त्यही नीति छ, जुन जनयुद्धकालमा थियो । अहिले पनि त्यही डिजाइनअनुसार अघि बढिरहेका छौं ।’

उनले माओवादी आन्दोलनमाथि भ्रम फैलाउनेहरुको घेरा तोड्दै प्रतिवाद गर्न निर्देशन दिए । प्रचण्डले अहिले माओवादी शक्तिहरु एकताबद्ध भएपछि २०६४ को भन्दा बलियो शक्ति बन्ने जिकिर गरे ।

माओवादी केन्द्र कमजोर भए पनि देशको राजनीति आफ्नै हातमा रहेको उनको भनाइ छ । अहिले राज्यको बागडोरको नेतृत्व आफैंले गरिरहेको उनको भनाइ छ ।

प्रचण्डले भने, ‘यो पटक हामीले चुनौतीपूर्ण अवसरमा राम्रो काम गरिरहेका छौं । त्यो कुरा अरुलाई पचिरहेको छैन ।’ ‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु। भ्रष्टहरूमाथि कार्वाही सुरू भएको छ। ललिता निवासको फाइल फेेरि खोलिएको छ। यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला- थप फाइलहरू खोलिन्छ र कार्वाही गरिन्छ।’‘ इतिहासको तागतको बलमा हामी सरकारमा छौँ, कतिलाई यो कुरा पचिरहेको छैन। भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त छन्, हैरान र परिसान छन्। तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ। सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौं। सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरू छन्। तर, तिनीहरूलाई जनताले नै ठीक पार्छन्।’