FLASH NEWS

प्रधानमन्त्री दाहालको सार्वजनिक अभिव्यक्तिलाई बङ्ग्याएर राजनीतिकरण गरियो : सचिवालय


नेपाल आवाज २१ असार २०८०, बिहीबार १५:३६ मा प्रकाशित १४३५ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रधानमन्त्री दाहालको सार्वजनिक अभिव्यक्तिलाई बङ्ग्याएर राजनीतिकरण गरिएको बताएको छ ।


प्रधानमन्त्री दाहालका तर्फबाट उनको सचिवालयले आज विज्ञप्ति जारी गरी एक पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई बङ्ग्याएर राजनीतिकरण भइरहेको स्पष्ट पारेको हो ।

संसदमा स्पष्टीकरणको मौका समेत नदिई एकपक्षीय प्रचार गरेको भन्दै सचिवालयले असन्तुष्टि सोत व्यक्त गरेको छ ।

नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा सोमबार प्रधानमन्त्री दाहालले ‘एकपटक आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै पटक दिल्ली गएको’ बताएका थिए । उनको सोही अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको आलोचना भइरहेको छ ।

प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधि सभामा बुधबारदेखि राजीनामा नै मागेको छ भने राष्ट्रिय सभाको आज बिहीबारको बैठक पनि अवरुद्ध गरेको छ ।

यद्यपि, आज बिहीबार बसेको सत्तारुढ दलहरुको बैठकले प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन निर्देश गरेको छ । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपव्याख्या गरिएको बताएका हुन् ।