FLASH NEWS

जन्मदिन मनाउन परिवारसहित ‘होटल टेरेसेस’ पुगे पूर्वराजा ज्ञानेन्द्र


नेपाल आवाज २१ असार २०८०, बिहीबार २०:३२ मा प्रकाशित २१०१ पाठक संख्या

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह जन्मदिन मनाउन ललितपुर र भक्तपुरको सीमानामा पर्ने लाँकुरिभञ्ज्याङस्थित टेरेसेस होटल पुगेका छन्।


बिहीबार उनी परिवारसहित सो होटल पुगेको सुरक्षा स्रोतले जानकारी दिएको छ। उनी त्यहाँ तीन दिन रहनेगरी बुकिङ गरिएको हो।

ज्ञानेन्द्र परिवार बसेको उक्त होटल काठमाडौं उपत्यकालाई दृश्यावलोकन गर्न सबैभन्दा उत्कृष्ट स्थानको रुपमा पछिल्लो चरण लिन थालिएको छ।

उनी बिहीबारबाट ७६ वर्ष पूरा गरी ७७ वर्षमा प्रवेश गर्दैछन्। ज्ञानेन्द्र शाह २००४ साल असार २३ गते जन्मिएका थिए। उनी राजा महेन्द्रका माहिला छोरा हुन्।

यसै क्रममा राजावादीहरुले शाहको जन्मजयन्तीको अवसरमा देशव्यापी रुपमा दीप–प्रज्वलन गर्न आह्वान गरेका छन् ।

उनीहरुले राजा र देशको सुख, शान्ति, सुस्वास्थ, समृद्धिको कामना गर्दै पूजापाठ, दीपावली र विभिन्नको सप्ताहव्यापी कार्यक्रम आयोजना पनि गरेका छन् ।

नागरिक मूल आयोजक समिति २०८० ले आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको हो ।

समितिले आगामी असार २३ गते साँझ ७ बजेर ७ मिनेटमा ७७ वटै जिल्ला सदरमुकामहरु, पालिका, गाउँ, घर, टोल–टोल र घरमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ । काठमाडौंमा निर्मल निवासको गेट अगाडि विशेष कार्यक्रम रहने पनि बताइएको छ ।