FLASH NEWS

मुख्यमन्त्री थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा अदालत जाँदै


नेपाल आवाज २२ असार २०८०, शुक्रबार १२:२२ मा प्रकाशित १०४५ पाठक संख्या

काठमाडौं- कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएका छन् ।


बिहीबार नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दा २९ सिट भएको कांग्रेस, सभामुखसहित १३ सिट भएको माओवादी, ४ सिट भएको एकीकृत समाजवादी र १ जना सांसद भएको जसपा दलका नेताहरूले समर्थनमा हस्ताक्षर गरेका थिए।

समर्थनको सोही पत्रमा प्रदेश सभा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए। सविधानले प्रदेश सभामा बराबरी मत भएमा मात्रै सभामुखले निर्णायक मत दिने अनुमती दिएको छ। तर, गठबन्धनले सभामुखलाई पनि सरकार बनाउने संख्यामा प्रयोग गरेपछि विवाद बढेको छ।

एमाले र राप्रपाले भने सभामुख तटस्थ रहने भएकोले बहुमतमा जोडेर लानु संविधान विपरीत हुने तर्क गरिरहेका छन् ।

राप्रपा कोशी संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले गठबन्धनले संविधानविपरीत काम गरेको भन्दै अदालत जाने तयारी भएको जानकारी दिएका छन।

सभामुख बाबुराम गौतमले भने आफूले निकास दिन बाध्य भएको बताएका छन् । ‘विगतमा पनि केन्द्रदेखी प्रदेशसम्मै सभामुखलाई समेट्ने अभ्यास रहेछ। मैले सोही अनुसार गरेको हुँ,’  सभामुख  गौतमले भने।

सभामुख समेतलाई विवादमा तानेर सरकार बनाए पनि गठबन्धनको सरकार कति दिन टिक्ला भन्ने संशय भने कायमै छ ।