FLASH NEWS

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय लज्जाको विषय : राप्रपा अध्यक्ष लिङ्देन


नेपाल आवाज २२ असार २०८०, शुक्रबार १९:३२ मा प्रकाशित १३८७ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चुनेको संसद् र संसद्‌ले चुनेका प्रधानमन्त्रीले आफू प्रधानमन्त्री बन्न भारतमा लबिङ भएको बताउनु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन्।


नेपाल प्राज्ञिक परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक तथा सामरिक चूनौतिहरु बिषय विचार गोष्ठिमा सहभागी हुँदै लिङ्देनले भने- ‘जनताले चुनेको संसद र संसद्ले चुनेका प्रधानमन्त्रीले त्यसो भन्नु राष्ट्रिय लज्जाको विषय हो। हामी स्वीकार गर्न सक्दैनौँ।’

प्रधानमन्त्री बनाउनका लागि भित्रि रुपमा हुने चलखेल सवैलाई थाहा भएपनि अहिले आफुलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाएर प्रभाव दिन खोज्ने प्रधानमन्त्री देशले पाएको टिप्पणी गरे ।

छिमेकीलाई कम्फर्टेवल हुने गरि सरकार बनाउने कामले मुलुकको भूराजनीतिक परिस्थीति पेचिलो बन्दै गएको उनले बताए ।

उनले देशलाई सवै हिसावले परनिर्भर बनाउने र कसैको आड लिएर सत्तामा टिकिरहने संस्कृतिले नेपाल गम्भीर भूराजनीतिक चपेटामा परेको अनुभव गरेको जिकिर गरे ।

बिभिन्न आवरणमा विदेशीहरुको सेवा गरेर सत्तामा जाने प्रवृति बढिरहेको र आफ्ना चाहना पुरा गर्न विदेशी शक्ति पनि मुलुकमा हावी हुन थालेको उनको भनाई छ ।

लिङ्देनले विदेशीलाई खुसी पार्नका लागि नै अहिले सेनामाथि पनि आक्रमण सुरु भएको र सेनाको संख्या घटाउनुपर्छ भन्ने आवाज उठ्न थालेको जिकिर गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले भारतमा लबिङ गरेको बताएका थिए। सिंहले गरेको लबिङका आधारमा आफू प्रधानमन्त्री बनेको प्रधानमन्त्री दाहालको आशय थियो।