FLASH NEWS

जनताका मुद्दालाई केन्द्रमा राखेर काम गर्छौ : सभापति लामिछाने


नेपाल आवाज २३ असार २०८०, शनिबार १४:१८ मा प्रकाशित १२७३ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताएका छन् ।


पार्टीको आज आयोजित तारकेश्वर नगरपालिका भेलामा उनले जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरु सधैँ तयार रहेको बताउँदै जनताका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याएका हुन् ।

‘नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौँ, जनताको आदेशअनुसार काम गर्छौँ,’ उनले भने, ‘आगामी निर्वाचन हाम्रो पार्टीको अर्जुनदृष्टिमा बहुमत रहेको छ । अहिले हामी संसद्मा दह्रो र खरो भएर उभिएका छौँ ।’ २०८४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै सभापति लामिछानेले निर्वाचनमा जित हासिल गर्न अहिलेदेखि नै लागिएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने उल्लेख गर्दै उनले आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गरे । ‘रास्वपा दह्रो खुट्टा बनाएर अघि बढेको छ, भष्टचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौँ,’ लामिछानेले भने ।