FLASH NEWS

भूतपूर्वलाई प्रधानमन्त्री बनाउन हुँदैन, अब देशको नेतृत्व नयाँपुस्ताले गर्नु पर्छ : गगन थापा


नेपाल आवाज २३ असार २०८०, शनिबार १५:२० मा प्रकाशित १३२१ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब देशको नेतृत्व नयाँपुस्ताले गर्नुपर्ने बताएका छन् ।


आज शनिबार काठमाडौंमा नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै थापाले अव मुलुकमा भूतपूर्वलाई प्रधानमन्त्री बनाउन नहुने र देशको नेतृत्व नयाँपुस्ताले गर्नुपर्ने बताएका हुन् ।

अहिलेको आश्यकता आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्ने कुरामा रहेको उनले बताए । महामन्त्री थापाले आफू प्रधानमन्त्री बन्नका लागि फेरि पनि कांग्रेस संसदीय दलको नेता हुने प्रयत्नमा लाग्ने र नसके अरु कसैलाई समर्थन गर्ने बताएका छन् ।

अहिले मुलुकको अर्को प्रधानमन्त्री को बन्छ भन्ने सबैलाई जानकारी हुने भन्दै उनले एक पटक प्रधानमन्त्री भएको व्यक्तिलाई अर्को पटक प्रधानमन्त्री बन्नबाट सबै दलले रोक्न सक्नुपर्ने तर्क गरे । त्यस्तै, थापाले अहिले सबै दलहरुले मिसन ८४ लाई ध्यान दिएको अवस्थामा कांग्रेसले भने मिसन २०८० मा केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरे ।

देशका सबै स्थानमा कांग्रेस सहभागी सरकार बनेको अवस्थामा जनताको चाहना अनुसार काम गर्न सके मिसन ८४ मा ध्यान दिनै नपर्ने उनको भनाइ छ ।

थापाले पार्टीको केन्द्रीय समितिबाटै केन्द्रलगायत प्रदेश सरकारमा रहेका कांग्रेसतर्फबाट मन्त्रीहरुलाई एक वर्षको काममा केन्द्रीत हुन निर्देशन दिनुपर्ने धारणा अघि सारेका छन् । उनले पार्टीको क्रियाशील सदस्यता वितरणलाई पनि नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिए ।